मौरीपालन व्यावसाय नेपालको पुर्ख्याैली पेशा हुनु, प्राकृतिक चरनको उपलब्धता, उपयुक्त हावापानी आदि कारणले गरीब जनताको जीवनस्तर उकास्नमा मद्दत पुगोस् भन्ने हेतुले मौरीपालन व्यावसायको विकास र विस्तारका लागि स्थापित यस मौरी विकास केन्द्र कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र व्यावसायिक कीट विकास केन्द्र अन्तर्गत पर्दछ । यस कार्यालयको स्थापना २०३७/३८ सालमा विषेश मौरीपालन कार्यक्रम भनि एउटा सानो इकाइको रुपमा रेशम खेती विकास शाखासँगै खोपासीमा भएको थियो । पछि तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र सरकारबाट निर्देशन बक्स भए बमोजिम मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरको कार्यालयको रुपमा "मौरीपालन केन्द्र" को नामबाट आ.व.२०४२/४३ मा गोदावरीमा स्थापना गरिएको हो । पछि कार्यालयको काम प्रकृति र उद्देश्यलाई दृष्टिगत गरी आ.व. २०४९/५० मा "मौरीपालन केन्द्र" को नाम परिवर्तन गरी "मौरी विकास कार्यक्रम" राखियो । पुनः आ.व.२०५२/५३ मा यस कार्यालयलाई व्यावसायिक कीट विकास निर्देशनालयको मातहतको शाखाको रुपमा स्थापित भई "मौरी विकास शाखा" भनेर नामाकरण गरियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको वर्तमान नयाँ संरचना अनुसार यस शाखाको परिमार्जित नाम "मौरी विकास केन्द्र" रहेको छ ।

ललितपुर जिल्लाको विशंखुनारायण गा.वि.स. वडा नं. ९ को गोदावरीमा अवस्थित यो कार्यालय राष्ट्रिय वनस्पति उद्यानसँगै जोडिएको छ । जिल्ला सदरमुकामबाट ११.२ कि.मि. दक्षिण पूर्वमा अवस्थित यो कार्यालय ८५डिग्री ४' पूवी देशान्तर, २७डिग्री ४' उत्तरी अक्षांश र समुद्रसतह देखि १५३० मीटर (५१०० फीट) को उचाइमा रहेको छ ।

समशितोष्ण प्रकृतिको हावापानी भएको यस ठाउँमा तुलनात्मक रुपमा लामो समयसम्म वर्षा भइरहन्छ भने हिउँदमा कहिलेकाही 2/4 पटकसम्म नजिकका पहाडमा हिमपात हुने हुँदा अलि कडा किसिमको जाडो हुन्छ ।

आफ्नै स्वामीत्वमा नभएपनि कार्यालयले ओगटेको जमिनको क्षेत्रफल ३ हेक्टर (६० रोपनी) छ भने भौतिक पूर्वाधारहरुमा कार्यालय भवन-१, छात्राबास-२, पाहुनाघर-१, आवास-१, पालेघर-१, पुस्तकालय-१, प्रयोगशाला-१, घार निर्माण वर्कशप-१, क्यान्टीन-१, स्टोर-१, तालिम हल-१ र मोटरग्यारेज-१ रहेका छन् ।