शुरुमा घरेलु उद्योग विभागले मौरी पालन कार्यक्रम संचालन गरी विभिन्न जिल्लाहरुमा तालिम दिई उन्नत घारहरु वितरण गरेको थियो । वि.सं. २०२५/०२६ सालतिर दुर्गम क्षेत्रहरुमा स्थानीय विकास समितिले मौरी पालन तालिम संचालन गरेको अभिलेख भेटिन्छ । यसै बीचमा कृषि विभागको कीट विज्ञान शाखाले मौरी पालन सम्बन्धी प्राविधिक सेवा र सल्लाह प्रदान गर्दै आएको थियो । कृषि वर्ष वि.सं. २०३२/३३ सालमा व्यावसायिक कीट विकास आयोजना स्थापनाका साथै कृषि विभाग अन्तर्गत मौरीपालन सम्बन्धी निश्चित कार्यक्रमको शुरुवात भयो । यस कार्यक्रम अन्तर्गत सर्वप्रथम काभ्रेपलाञ्चोक, ललितपुर र नुवाकोट जिल्लाहरुमा कृषक स्तरीय तालिमहरुको आयोजना गरी २५० वटा उन्नत घारहरु वितरण भएको तथ्याङ्क उल्लेख छ ।

तत्पश्चात अधिराज्यका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, कास्की, लम्जुङ, पाल्पा, रोल्पा, सोलुखुम्बु आदि जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालयहरुद्वारा उन्नत मौरी घारहरु वितरण गरिएको थियो । यसै बीचमा प्रजा विकास समिति मार्फत धादिङ, चितवन र मकवानपुरका प्रजा (चेपाङ) जातिहरुमा साथै महिला प्रशिक्षण कार्यक्रम अन्तर्गत कास्की र सुर्खेत जिल्लाहरुमा मौरीपालन तालिम आयोजना गरी उन्नत घारहरु समेत वितरण गरिएका थिए ।

वि.सं. २०३५/३६  सालमा नेपाल पुनर्वास कम्पनीबाट आफ्नै बजेट श्रोतबाट मौरीपालन तालिमहरु आयोजना गरी कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, नवलपरासी, सर्लाही आदि जिल्लाहरुमा उन्नत मौरीघारहरु वितरण गरिएका थिए ।

वि.सं. २०३७/३८ सालदेखि साना किसान विकास कार्यक्रम अन्तर्गत अधिराज्यका विभिन्न १६ वटा साना किसान विकास आयोजनाहरुमा युनिसेफ र कृषि विकास बैंकको आर्थिक र व्यावसायिक कीट विज्ञान आयोजनाको प्राविधिक सहयोगमा विशेष मौरीपालन कार्यक्रम संचालन गरिएको थियो । यसै बिच मौरीपालन सम्बन्धी योजनाबद्ध कार्यक्रमको शुरुवातसँगै वि. सं. २०३८ सालमा नेपालको पूर्वी सिमाबाट देखा परेको थाई स्याक ब्रुड रोगले नेपालभरका मौरीपालनमा नराम्रो क्षति पुर्‍याई २०४२/०४३ सालसम्म मौरीपालनलाई नाजुक अवस्थामा पुर्‍यायो । तत्पश्चात सो रोगको प्रकोप मथ्थर हुँदै गएबाट मौरीपालनमा कृषकहरु पुनः उत्साहित र सक्रिय हुँदै गए ।

स्व. श्री ५ वीरेन्द्रको वि.सं. २०४२ सालको मध्यमाञ्चल क्षेत्रको भ्रमणका बेला व्यवसायिक कीट विज्ञान आयोजना अन्तर्गत काभ्रेपलाञ्चोकको खोपासीमा रेशम खेती र मौरीपालन दुवै कार्यक्रम एकै स्थानमा संचालन हुँदै आएकोमा मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरमा मौरीपालन आयोजनाको रुपमा संचालन गर्न श्री ५ बाट निर्देशन बक्स भए बमोजिम वि. सं. २०४३/०४४ सालमा गोदावरीमा “मौरीपालन केन्द्र” छुट्टै इकाईको रुपमा खडा भै आ.व. २०४४/०४५ देखि २०४९/०५०  सम्म मौरीपालन तथा प्रसार सेवा आयोजना (नेदरल्याण्ड सरकारको सहयोगमा) संचालन भएको थियो ।